काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा ६३ जनाले मत दिए भने १९४ जनाले विपक्षमा मतदान गरे । १ जना भने तटस्थ रहे ।
शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २५८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्छ ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत नभएकाे भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाएकाे घोषणा गरे ।
प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका छन् । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ ।
अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
प्रचण्डलाई नेकपा (माओवादी केन्द्र), रास्वपा, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल, लोसपा र नाउपालगायतले विपक्षमा मतदान गरे ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन गठबन्धन भत्किएको थियो ।
प्रधानमन्त्रीले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिएको यो पाँचौं पटक हो ।
प्रतिक्रिया