काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको रोष्ट्रममा बोलिरहेका बेला काँग्रेस सांसद् रामहरि खतिवडाले नियमापत्ति गरे ।
लामिछाने बोलिरहेका बेला खतिवडाले विषयभन्दा बाहिर गएर बोलेको भन्दै नियमापत्ति जनाएका हुन् । खतिवडाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि बैठक राखिएको भए पनि लामिछानेले आफ्नो गृहमन्त्री कालको कामबारे ब्रिफिङ गरेको भन्दै नियमापत्ति जनाए । उपसभामुख इन्दिरा रानाले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र गृहमन्त्रीकै हैसियतमा बोल्न दिइएको जवाफ दिइन् ।
‘माननीय लामिछानेलाई गृहमन्त्री तथा रास्वपा सभापतिकै हैसियतमा बोल्न दिइएको हो’, उनले भनिन् । लामिछाने खतिवडामाथि रोष्ट्रमबाटै जाइलागे । उनले सत्तामा आउन नपाउँदै पारा देखाउन थालेको टिप्पणी गरे ।
बिहानीले दिनको संकेत गर्छ भन्दै उनले त्यसको सुरुआत भएको टिप्पणी गरे । खतिवडाले नियमापत्ति गर्नुअघि लामिछानेले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा सुशासन समितिका सभापतिसमेत रहेका उनी सांसदहरुसहित भेट्न गएर आफूहरु साथमा रहेको भन्दै ढाडस दिएकामा आपत्ति जनाएका थिए ।


प्रतिक्रिया