बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो कालीकोटको महावै गाउँपालिका

बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो कालीकोटको महावै गाउँपालिका



कालीकोट । महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो ।

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो ।

दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए ।

तिला नदीमा पुल निर्माणका लागि पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । यसअघि पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि पहल भएको थियो ।