काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरेसँगै आवश्यक अध्ययन गरेर राष्ट्रपतिले नियुक्तिको निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे गर्ने गरी राष्ट्रपति कार्यालय शीतल निवासले तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया