‘पत्रकार महासंघ यूकेको अध्यक्ष विमला सेने होइनन्’

‘पत्रकार महासंघ यूकेको अध्यक्ष विमला सेने होइनन्’


ग्लोब नेपाल
351
Shares

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवादले तिब्र रुप लिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रले अधिवेशन रोक्न पत्राचार गरे पनि एउटा समूहले महाधिवेशन सम्पन्न गरे पछि विवाद लम्बिएको हो ।

नेपाल पत्रकार महासंघ बेलायतका अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगित भएको निर्वाचनलाई आधिकारिक भन्दै फर्जी निर्वाचनबाट प्राप्त नतिजाको आधारमा अध्यक्षकी उम्मेदवार विमला सेनेले शतप्रतिशत मत प्राप्त गरेको भन्ने समाचारहरुबाट भ्रममा नपर्न अनुरोध गरेका छन् ।

विज्ञप्तिमा केन्द्रको पत्रानुसार नेपाल पत्रकार महासंघ यूकेको निर्वाचनको प्रक्रिया विधान बमोजिम छ्टिटै सुरु गरिने उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ
नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष विमला सेने शिर्षकमा विभिन्न संचार माध्यममा प्रकाशित समाचारहरुप्रति हाम्रो ध्यानार्कषण भएको छ । यसबारे सत्यतथ्य स्पष्ट पार्न चाहन्छौं। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा गत ज्येष्ठ २३ गते प्रेषित पत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायतको १४ जुलाईमा आयोजना गरिएको अधिवेशन आधिकारिक रुपमा स्थगित भएको हो ।

स्मरणरहोस् नेपाल पत्रकार महासंघ बेलायत, नेपाल पत्रकार महासंघको आधिकारिक शाखा हो र केन्द्रको निर्देशन पालना गर्नु शाखाको अनिवार्य कर्तब्य हो । तर स्थगित भएको निर्वाचनलाई आधिकारिक भन्दै फर्जी निर्वाचनबाट प्राप्त नतिजाको आधारमा अध्यक्षकी उम्मेदवार विमला सेनेले शतप्रतिशत मत प्राप्त गरेको भन्ने समाचारहरुबाट भ्रममा नपर्न अनुरोध गरिन्छ ।

शाखाको निर्वाचनमा अध्यक्ष पदको लागि श्याम लुईटेल र दिनेश परियारको उम्मेदवारी परे पनि महासंघको पत्र पछि उहाँहरु स्वतः सो प्रकृयाबाट बाहिर रहनु भएको जानकारी गराइन्छ ।

निर्वाचनका अन्तरराष्ट्रिय मापदण्ड र सिद्धान्त अनुरुप पनि तीन जना उम्मेदवार रहेको निर्वाचनमा कुनै एक उम्मेदवारले शतप्रतिशत मत प्राप्त गरेको भन्ने दावी आधारहीन र झुट्ठा हो । त्यसैले नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा बिमला सेने निर्वाचित भन्ने समाचारहरु भ्रामक र कपोकल्पीत भएको जानकारी गराइन्छ ।

साथै, नेपाल पत्रकार महासंघ केन्द्रको पत्रअनुसार यस शाखाको निर्वाचन महासंघको केन्द्रीय निर्वाचन सम्पन्न भए पछि हुने जानकारी गराइन्छ । केन्द्रको पत्रानुसार नेपाल पत्रकार महासंघ यूकेको निर्वाचनको प्रक्रिया विधान बमोजिम छ्टिटै सुरु गरिने पनि जानकारी गराउँदछौं ।

दिनेश परियार
संयोजक, छैटौ महाधिवेशन तयारी समिति
नेपाल पत्रकार महासंघ बेलायत शाखा
मितिः १७ जुलाई २०२४