विपदबाट आजसम्म एक सय २५ जनाको मृत्यु

विपदबाट आजसम्म एक सय २५ जनाको मृत्यु



काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।

विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विपदमै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । यसै गरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढीपहिरोलगायत विपदमा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।”

सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।