आईटी अवरोधको कारण विश्वका विभिन्न देशमा समस्या

आईटी अवरोधको कारण विश्वका विभिन्न देशमा समस्या

कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध



काठमाडौं । विश्वभरका विमानस्थलहरू आइटी समस्याको कारण सकसमा पुगेका छन् । बेलायती, अमेरिकी तथा रुसी मिडियाहरूको समाचार अनुसार आइटीको कारणले यस्तो समस्या भएको बताइएको छ ।

बीबीसीका अनुसार कयौँ उडानहरू रद्द भएका छन् । सञ्चार सेवाले काम गर्न छोडेको छ । बेलायतको स्काइ च्यानलले आफ्नो लाइभ गर्न नसकेको बताएको छ ।

कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।

यस्तै रुसी विश्व च्यानल आटीका अनुसार अमेरिका, जर्मनी, स्पेन, बेलायत, भारत अस्ट्रेलियालगायत कयौं देशहरूमा सञ्चार क्षेत्रमा समस्या आउँदा समस्या भएको हो ।

विमानस्थल मात्रै नभइ पूर्वाधार, बैंक तथा सञ्चार क्षेत्रमा पनि यस्ता समस्या देखिएको आरटीले उल्लेख गरेको छ । तर, यो घटनालाई प्राविधिक कारणले हो वा कुनै ह्याकिङ आक्रमणको कारणले हो भनेर कुनै खुलासा गरिएको छैन ।

रुस तथा चीनमा भने यस्तो समस्या आएको सार्वजनिक भइसकेको छैन ।

आईटी अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लु स्क्रिन अफ ड्याथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

क्राउडस्ट्राइकको सफ्टवेयरका कारण मात्रै समस्या भइरहेको हो अथवा माइक्रोसफ्टमा पनि समस्या आएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

माइक्रोसफ्टमा समस्या भएको भए यो अझै धेरै ठाउँमा हुनसक्ने भन्दै क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गरिएका कम्प्युटरमा समस्या हुनसक्ने आंकलन गरिएको छ ।