न्यूरोडमा महानगरको डोजरमाथि चढे स्थानीयवासी

न्यूरोडमा महानगरको डोजरमाथि चढे स्थानीयवासी



काठमाडौं । न्यूरोडमा काठमाडौं महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् ।

न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट तनाव बढेको थियो । महानगरकाे काममा स्थानीयले अवरोध गरेपछि नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो ।

अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको उपस्थितिमा महानगरले डोजर निकाल्ने प्रयास गरेपछि स्थानीयवासीले घेराउ गरेका थिए । उनीहरूले डोजरमाथि नै चढेर अवरोध पुर्‍याएका छन् ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।

स्थानीयले मेयर बालेन शाह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् ।