काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।
कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्बजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ कि मिल्दैन भने प्रश्न उठेको बताए ।
उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरे ।
उनले भने, ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? यो पत्र कसैलाई थाहा नदिई, कसैलाई पनि चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा आउँछ उपसभामुखको पनि एक जनासँग चिनजान भएको अवस्थामा ५ जनालाई सिफारिस भएको छ । यो कसले किन के प्रयोजनका लागि गरेको हो ? संसद्को मात्र हैन देशको अपमान भयो ।’ पैसा लिएर भोलि सिफारिस गर्ने काम गरे संसद्को इज्जत के हुन्छ भन्दै प्रश्न गरे ।
उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।


प्रतिक्रिया