सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं : सभापति देउवा

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने र संविधानलाई सहभागिता मुलक बनाइने बताए ।

संविधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देश अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए ।

सभापति देउवाले कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले देश विकासका लागि काम गर्ने बताएका छन् । उनले स्थिर र मजबुत सरकार निर्माणपछि विकास निर्माणको कामलाई जोड दिने बताए ।

‘वर्तमान सरकारले आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ,’ देउवाले भने, ‘दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेछ ।’ यसबाट राजश्व सङ्कलन बढेर जनचाहना बमोजिमका विकास निर्माणका काम गर्न सकिने देउवाको भनाई छ ।

यसबाहेक भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान समेत यो गठबन्धनले काम गर्ने कांग्रेस सभापति देउवाले बताए ।