युरो विजेता स्पेन र कोपा च्याम्पियन अर्जेन्टिनाबीच फाइनलिसिमा उपाधि भिडन्त

युरो विजेता स्पेन र कोपा च्याम्पियन अर्जेन्टिनाबीच फाइनलिसिमा उपाधि भिडन्त



काठमाडौँ । कोपा अमेरिकाको विजेता र युरोपेली च्याम्पियनसिप जित्ने टिमबीच खेलिने म्याच हाे फाइनलसिमा । यसपल्ट कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ भने युरोकप २०२४ स्पेनले जितेकाे छ । त्यसैले सन् २०२५ मा हुने फाइनलिसिमामा अर्जेन्टिना र स्पेनबीच उपाधि भिडन्त हुने छ ।

विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिकाको उपाधि जितेर फाइनलिसिमाका लागि तयार छ । सन् २०२१ को युरो च्याम्पियन इटालीलाई फाइनलिसिमामा कोपा २०२१ विजेता अर्जेन्टिनाले सजिलै हराइदिएको थियो । यसपल्ट उसले युरोपकै सफल टिम स्पनेको सामना गर्ने छ । रोचक के भने, आफूले आदर्श मानेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई स्पेनिस योङस्टार लेमिन यमालले चुनौती दिनेछन् ।

दाहिने खुट्टामा लागेको चोटका कारण मेस्सीले कोपा अमेरिका २०२४ फाइनल पूरा खेल्न पाएनन् । खुट्टामा गम्भीर चोट लागेका उनी अबको डेढ महिना फुटबल खेल्ने छैनन् । मेस्सीले संन्यास लिने चर्चा पनि अहिलेलाई सेलाएको छ । त्यसैले उनले फाइनलिसिमा खेल्ने धेरैको अनुमान छ । यो मात्र होइन, उस्तै परे सन् २०२६ को विश्वकपमा समेत मेस्सी देखिन सक्ने अनुमान छ ।

यता, हालै सम्पन्न युरोबाट चम्किएका यमालले फ्रान्सविरुद्ध गोल गरेर स्पेनलाई फाइनलमा लगेका थिए । उनलाई फुटबलको नयाँ स्टारको रूपमा हेरिएको छ । अर्जेन्टिनासँग फाइनलिसिमा खेल्दा यमालले आफ्ना आदर्श मेस्सीलाई मैदानमा पाउँछन्/पाउँदैनन्, यो हेर्न बाँकी छ ।

फाइनलिसिमा कोपा अमेरिका र युरो कप आयोजकबीच भएको सम्झौताको एक हिस्सा हो । खेलकुदको विस्तार, विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यी दुई संगठनले सहकार्य गरेका हुन् ।

फाइनलिसिमाको पछिल्लो संस्करण जून २०२२ मा लण्डनमा भएको थियो । आगामी संस्करणको ठ्याक्कै मिति तोकिएको छैन । यद्यपि, जून वा जुलाई २०२५ मा हुन सक्ने बताइएकाे छ । यसपालिको खेल कहाँ खेलाइन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । जहाँ भए पनि दुई सफल टिमबीचको प्रतिस्पर्धा निकै रोचक हुने छ ।

फाइनलिसिमा पहिलोपल्ट सन् १९८५ मा आयोजना गरिएको थियो, जसमा १९८४ को युरोपेली च्याम्पियनसिपको विजेता फ्रान्सको सामना सन् १९८३ को कोपा अमेरिका विजेता उरुग्वेसँग भएको थियो । म्याच फ्रान्सले २-० ले आफ्नो पक्षमा पारेको थियो ।