कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

कृष्णमान प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट



काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।

बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् । सुनुवाइ सकिएपछि अर्को बैठक बसेर नियुक्त गर्ने नगर्ने निर्णय हुने छ ।

प्रश्नोत्तरका क्रममा सांसदहरुले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानलाई आफूविरुद्ध लागेको आरोपको कसरी बचाउ गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले ‘एनजीओमा जागिरको लोभ देखाएर शारीरिक हिंसा गरेको’ उजुरी प्रधानविरुद्ध परेको बताइन् । यस्तो उजुरी विगतमा आफूले नसुनेको उल्लेख गर्दै उनले शारीरिक हिंसाबारे जिज्ञासा राखेकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले पनि प्रधानलाई आफूविरुद्ध लागेको उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।

प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

सांसदहरुले प्रश्न सोध्ने र प्रधानले उत्तर दिने क्रम सकिएको छ । आजको बैठक सकिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी गराएका छन् । अर्को बैठकले प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्ने छ ।