हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन्, सतर्कता अपनाउनुपर्छ : माधव नेपाल

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन्, सतर्कता अपनाउनुपर्छ : माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आएको बताए ।

‘हाम्राविरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन,’ अध्यक्ष नेपालले भने, ‘तर, कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ ।’

यस बारेमा यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए । षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने उनको भनाइ छ । पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने उनले बताए ।

‘त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘यस अर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ ।’

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।