पर्यटकका लागि विश्वका उत्कृष्ट गन्तव्यमा बर्दिया राष्ट्रिय निकुञ्ज

पर्यटकका लागि विश्वका उत्कृष्ट गन्तव्यमा बर्दिया राष्ट्रिय निकुञ्ज

‘बुरहान वाइल्डरनेस क्याम्प’ सूचीकृत


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रसिद्ध अमेरिकी म्यागजिन पत्रिका टाइमको भ्रमणका लागि संसारका उत्कृष्ट स्थानहरुको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ ।

टाइमले सन् २०२४ मा भ्रमणका लागि छानेका उत्कृष्ट सयमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको हो । टाइमले बिहीबार सार्वजनिक गरेको संसारका उत्कृष्ट सयवटा गन्तव्यमा उक्त निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’लाई सूचीकृत गरेको हो । विभिन्न देशका पर्यटकहरुको प्रतिक्रिया र सिफारिसमा बर्दिया घुम्नलायक सूचीमा अटाएको टाइमले जनाएको छ ।

समाचारमा उक्त स्थानमा दुर्लभ एक सिंगे गैडा, बंगाल टाइगर, जंगली हात्तीजस्ता जनावरको अवलोकन गर्न पाइने उल्लेख गरिएको छ । यस्तै ब्ल्याक आइबिस, रूडी सेलडक, नाइटजार्स, फिसिङ अउलजस्ता चरा हेरेर आनन्द लिन सकिने टाइमले जनाएको छ ।

‘बुरहान वाइल्डरनेसको अर्को महत्वपूर्ण विशेषता भनेको पर्यटकलाई क्याम्पिङमा राखिनु र स्थानीय परिकारहरुको स्वाद चाख्न पाइनु रहेको टाइमले उल्लेख गरेको छ । टाइमका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको रमणीय उक्त स्थानमा एक दशकमा १ सय २५ वटा बाघको संख्या वृद्धि गराएको छ ।

संरक्षणविद मनोज गौतमले निकुञ्जको बफरजोन क्षेत्रमा स्थापना गरेको ‘बुरहान वाइल्डरनेस क्याम्प’ का कारण आदिवासी थारु समुदायको संस्कृतिको संरक्षण भएको तथा उनीहरुले रोजगारीका अवसर प्राप्त गरेका छन् ।