निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता

निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता


ग्लोब नेपाल
243
Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री यादवले महासंघले उठाएका भुक्तानी लगायतका मागहरू जायज रहेको बताए ।

निर्माण उद्योगको समग्र विकासका लागि महासंघले दिएको सुझावहरू राज्यका लागि नै लाभदायक भएको प्रतिपक्रया मन्त्री यादवले दिए । वर्तमान सरकारबाट नेपाली जनताले ठूलो अपेक्षा राखेको भन्दै मन्त्री यादवले यो सरकारलाई कुनै पनि हालतमा असफल हुने छुट नरहेको बताए । महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीहरूले पाउन बाँकी रहेको भुक्तानी, ठेक्का तोडिँदा व्यवसायीमाथि हुने अन्याय लगायतका विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराएका थियो ।

अध्यक्ष सिंहले सबै किसिमका खानेपानी आयोजनाको निर्माण गर्न स्वदेशी व्यवसायी नै सक्षम भएकाले विदेशी निर्माण व्यवसायी आवश्यक नभएको जानकारी मन्त्री यादवलाई गराए । शुक्रवार सार्वजनिक भएको मौद्रिक नीति निर्माण व्यवसायी मैत्री भएको प्रतिक्रिया दिँदै अध्यक्ष सिंहले अब कार्यविधि पनि सोही अनुरुप आउनुपर्ने धारणा राखेका थिए ।

महासंघ प्रतिनिधिमण्डलले मन्त्री यादवको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका पदाधिकारी तथा कार्य समिति सदस्यहरू पनि रहेका थिए ।