आइतबार उपत्यकाका पालिकामा शोक बिदा

आइतबार उपत्यकाका पालिकामा शोक बिदा



काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा शोक बिदा दिने निर्णय गरिएको छ ।

बुधबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

नकर्मीको हिजो निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । “उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविस्मरणीय छन्”, विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।”