स्थायित्वका लागि कांग्रेस–एमाले सहकार्य : शेखर कोइराला

स्थायित्वका लागि कांग्रेस–एमाले सहकार्य : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई आइतबार सम्बोधन गर्दै नेता डा.कोइरालाले अस्थिर सरकारका कारण देशमा सङ्कट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताए । हरेक ६–६ महिनामा भैरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो ।

कोइरालाले भने– ‘केवल सत्ता टिकाउन सधैँ साना–साना २–४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसद्‌मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घर सम्म लैजाने बताए ।

‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’ कोइरालाले भने ।

नेता डा.कोइरालाले निरङ्कुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठुलो गुन लगाएको बताए । ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीहरूले पुर्‍याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु’ कोइरालाले भने ।