गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लाको रेसेमा हिजो पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी शुरू भएको छ ।
पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको हिजो दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका उनले बताए । बेपत्ताको खोजीका लागि ‘एक्स्काभेटर’ प्रयोग गरिएको डीएसपी श्रेष्ठकाे भनाइ छ ।
रातिको समयमा डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीयवासी जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका छन् ।
डाँडाबाट खसेको पहिरो बूढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । खोजी कार्य बूढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा केन्द्रित हुने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया