पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्यामा संलग्न दुई जना पक्राउ

पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्यामा संलग्न दुई जना पक्राउ



सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । 

रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

जग्गा सम्बन्धी विवादका कारण घरमा काम गर्ने सहयोगीले रायको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कविलासी नगरपालिका-३ स्थित मदनपुरका २५ वर्षीय रामउजैन राय यादवले उनको हत्या गरेको खुलेको हो । रामउजैन रायको घरमा काम गर्ने सहयोगी हुन् ।

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

वीरेन्द्र रायले राम उजैनमार्फत् उनको हत्या गराएको अनुसन्धानमा खुलेको डिएसपी दीपक श्रेष्ठको भनाइ छ ।

पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको छ। उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेका रहेछन् । त्यसको बदलामा रामचन्द्रको हत्या गर्नुपर्ने उनको सर्त थियो । उनकै उक्साहट र प्रलोभनमा रामउजैनले हत्या गरेकाे खुलेकाे छ ।