काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनिया राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण लिनुपर्ने बताएका छन् । उनले सिमलताल दुर्घटनामा बेपत्ता रहेका यात्रु र बसको खोजीबारे चिनिया राजदूतले भद्दा टिप्पणी गरेकोमा विरोध जनाएका हुन् ।
सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा भारतीय टोली पनि खटिएको थियो । तर भारतीय टोलीले गरेको प्रयास पनि सार्थक नभएको र उल्टै खोजीमा प्रयोग भएको चुम्बकसमेत हराएपछि चिनियाँ राजदूत सोङले सामाजिक संजाल एक्समा भद्दा टिप्पणी गरेका थिए ।
‘एक जना महामहिमले कुटनीतिक मर्यादा र आचार संहिताविपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ । सर्च गर्ने टोलीलाई ‘गुड लक अल द सर्च टिम’ भनेर ट्वीटरमा लेख्ने गरिएको छ । बस नखोज, चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ मानवीय संवेदनाको बारेमा बोलौँ,’ सांसद खतिवडाले भने, ‘अप्ठ्यारो परेको बेलामा हाँसीमजाकमा नउडाऔँ भनेर म अनुरोध गर्न चाहन्छु । परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लिओस् भन्ने अनुरोध गर्न चाहान्छु ।’
मंगलबारको प्रतिनिधिसभाको बैठकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले पनि नेपाल सरकारको नेतृत्वमा भइरहेको खोजी कार्यप्रति चिनियाँ राजदूतले मजाक उडाएको भन्दै आपत्ति जनाएका थिए ।
राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यङ्ग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने उनले बताए ।
सांसद शुक्लाले भने, ‘७ दिनसम्म सय जना भन्दा बढी ठुलो सङ्ख्याले खोजी गर्दा बस फेला नपार्नु दुर्भाग्यपूर्ण हो । तर त्यो भन्दापनि ठुलो दुर्भाग्यपूर्ण हो व्यङ्ग्यपूर्ण अभिव्यक्ति । दुर्घटनाबाट कैयौँ गाउँबासी अझै शोकमग्न छन् । त्यो अप्रत्याशित घटनाबाट सबै शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन्, सामाजिक सञ्जाल एक्सको पोस्टमा । यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ, संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइरहेको छ सभामुख महोदय । यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादा विपरीत हो । नेपालको नेतृत्वमा भएको यो खोजीकार्यलाई सफल भए पनि, असफल भए पनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो । यसबारे सरकारलाई मैले ध्यानाकर्षण गराएँ । अहोरात्र खटिइरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रका विज्ञहरूको टोलीले गरिरहेको कार्यहरूको लगातार ३ दिनदेखि व्यङ्ग्य गर्ने काम भइरहेको छ, यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाबाट यसलाई रोक्नुपर्छ ।’
प्रतिक्रिया