काठमाडौं । बौद्धिक अपांगता भएकी युवती बलात्कार आरोपमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ मोलुङबाट ३ जना बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कार आरोपमा ५० वर्षिय केशरप्रसाद बास्तोला, ६३ वर्षिय नन्दलाल गौतम र ८६ वर्षिय कपिलमणि गौतमलाई पक्राउ गरेको हो ।
केही समयअघि मोलुङ खोला किनारमा हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा एक अधबैँसे पुरुषलाई प्रहरीले उद्धार गरेको थियो । प्रहरी अनुसन्धानपछि ती घाइते बलात्कार घटनामा संलग्न भएको पाइयो । बलात्कार घटना अन्तै मोड्ने उद्देश्यले आफैंलाई हतियार प्रहार गरी घाइते बनाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बौद्धिक अपांगता भएकी २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरीले ५१ वर्षीय ती पुरुषलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि तिनै युवती बलात्कार आरोपमा ६३ र ८६ वर्षका थप दुई वृद्ध पनि पक्राउ परेका छन् ।
ओखलढुंगा प्रहरी प्रवक्ता इन्स्पेक्टर विजय कार्कीले भने, ‘बौद्धिक अपांगता भएकी एक युवतीलाई ३ व्यक्तिले फरक–फरक मितिमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाल पीडित गर्भवतीसमेत भएको देखिएको छ । एक आरोपीले घटना अन्तै मोड्ने उद्देश्यले आफैँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका रहेछन् ।’
युवती गर्भवती भएको खुलेपछि परिवार तथा आफन्त सोधखोजमा जुटेका थिए । युवतीले एक पुरुषको नाम पोल्दै आफू बलात्कारमा परेको सुनाइन् । पीडित पक्षले ५१ वर्षीय ती व्यक्तिमाथि केरकार गरे । उनले घटना स्वीकार गरेका छन् ।
आरोपीको दबाबमा गर्भपतन गराउन ६ असारमा युवतीलाई काठमाडौं पठाइएको थियो। तर, अस्पतालले गर्भपतन गर्नुअघि प्रहरीको सहमति लिनुपर्ने बताएपछि गर्भपतन हुन सकेन । गर्भपतन हुन नसकेको सूचना आएपछि गाउँमै रहेका आरोपी तनावमा परेका थिए । त्यसपछि प्रहरीसम्म नजान पीडित पक्षलाई दबाब दिइन थालियाे ।
अन्ततः प्रहरीसँग सहमति लिएरै गर्भपतन गराइएका छ । बलात्कारको घटनामा प्रहरीको सहमति लिएर मात्रै अस्पतालले गर्भपतन गराइदिन सकिन्छ । गुपचुप घटना सामसमुन पार्न खोजिएको थियो । तर सामसुम नहुने देखेपछि पीडक पुरुषलाई भयले सतायो ।
उनले घटना विषयान्तर गर्ने जुक्ति लगाए । घरमै भएको धारिलो चक्कु बोकेर ६ साउनको साँझपख बाहिर निस्किए । राति करिब ११ः३० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा फोन गरेर भने, ‘मानेभञ्ज्याङ गाउँपालिका– ९, मोलुङ खोलास्थित झोलुंगे पुलमा नकावधारी तीन अपरिचितले अधबैँसेलाई अपहरण गरे । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । भएको रकम लुटपाट गरेर घाइतेलाई झोलुंगे पुलबाट खोलाको किनारमा फालिदिए ।’
सूचना गम्भीर प्रकृतिको थियो । प्रहरी झस्कियो । प्राप्त सूचना तत्काल जिप्रका ओखलढुंगाका प्रमुख डिएसपी कृष्ण खड्काकहाँ पुग्यो । उनले तुरुन्तै घटनास्थलमा स्थानीय प्रहरी टोली परिचालन गरे । थप अनुसन्धानका लागि जिल्लाबाट पनि इन्स्पेक्टर विजय कार्कीसहितको टोली पठाए । सूचना आएअनुसार एक अधबैँसे घाइते अवस्थामा फेला परे । उनलाई स्थानीय हेल्थ पोस्ट लगियो । उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइयो ।
घाँटी, हात, खुट्टा, छाती र भुँडीमा धारिलो हतियारको गम्भीर चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । त्यही बेला उनकै गाउँकी युवतीको काठमाडौंमा गर्भपतन भएको सूचना डिएसपी खड्काले पाए । दुई फरक घटनाबीच आपसी सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानको सुई घुमायो । उपचारपछि तंग्रिएका अधबैँसेसँग प्रहरीले सोधपुछ गर्यो, युवतीलाई पनि भेटेर जानकारी दियो । छोटो अनुसन्धानमै प्रहरीले दुई घटना सम्बन्धित रहेको पहिल्यायो ।
इन्स्पेक्टर कार्कीले भने, ‘प्रहरीको सहमतिपछि युवतीको गर्भपतन भएपछि घटना सार्वजनिक हुने डरले त्यसलाई विषयान्तर गर्न उसले अपहरण र लुटपाटको काल्पनिक कथा रचेर प्रहरीलाई फोन गरेको रहेछ । त्यसपछि चक्कुले आफैँमाथि प्रहार गरी झोलंगे पुलबाट हामफालेको रहेछ । अनुसन्धानमा यी सबै विवरण उसले स्वीकारेको छ ।’
प्रहरीले यो घटनाको अनुसन्धानको दायरा अझै फराकिलो बनायो । युवतीसँग थप सोधपुछ गर्यो । स्थानीयसँग बयान लियो । अनुसन्धानपछि प्रहरीले बलात्कार आरोपमा गाउँकै ५० वर्षीय बास्तोलासहित, ६३ वर्षिय नन्दलाल गौमत र ८६ वर्षिय कपिलमणी गौतमलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार गर्भपतन गरिएको नवजात शिशुको डिएनए परीक्षण हुन बाँकी छ । गर्भ कसको हो भन्ने त्यसपछि मात्रै खुल्ने प्रहरीले जनायो ।
यस्तो अवस्थामा पीडितलाई ढाढस दिनुको सट्टा समाजबाट एक्ल्याउने प्रयास भइरहेको, चौतर्फी दबाब दिने धम्की दिने काम पनि भएको खबर सार्वजनिक भएको छ । ‘पीडित पक्षलाई कमजोर बनाई बयान फेर्नतिर उन्मुख नहोला पनि भन्न सकिन्न’ एक अधिकारकर्मीले आशंका व्यक्त गरिन् ।
प्रतिक्रिया