मंगलबार र बुधबार मनसुन सक्रिय हुने, तीन दर्जन जिल्लामा रेड अलर्ट जारी

मंगलबार र बुधबार मनसुन सक्रिय हुने, तीन दर्जन जिल्लामा रेड अलर्ट जारी



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जनाएको छ । अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् ।

यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

मंगलबार र बुधबार भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ ।