शेख हसिनाः दुई दशकपछि पतनको कथा

शेख हसिनाः दुई दशकपछि पतनको कथा


ग्लोब नेपाल
5.7k
Shares

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हप्तौंदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएकी छन् । समाचार अनुसार ७६ वर्षीया शेख हसिना सोमबार हेलिकप्टरबाट बंगलादेश छोडेर भारत प्रस्थान गरेकी छन् ।

यसैबीच हजारौं प्रदर्शनकारीले ढाकामा रहेको उनको सरकारी निवासमा आक्रमण गरेका छन् । यससँगै बंगलादेशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहँदै आएकी शेख हसिनाको शासनको पनि अन्त्य भएको छ । शेख हसिनाले बंगलादेशमा करिब २० वर्षसम्म बलियो पकडका साथ शासन गरिन् ।

दक्षिण एसियाली देश बंगलादेशको आर्थिक प्रगतिको श्रेय शेख हसिनालाई दिइन्छ । तर, पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाहीको आरोप पनि लगाइएको छ ।

शेख हसिना कसरी सत्तामा आइन् ?
सन् १९४७ मा पूर्वी बंगालको एक मुस्लिम परिवारमा जन्मिएकी शेख हसिनाले राजनीति विरासतमा पाएकी थिइन् । उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । उनी बंगलादेश राष्ट्रका संस्थापक र पिता हुन्, जसले १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र गराए र देशको पहिलो राष्ट्रपति पनि भए ।

त्यतिबेला शेख हसिना आफैंले ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा आफूलाई स्थापित गरिन् । सन् १९७५ मा सैनिक विद्रोहका क्रममा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए । शेख हसिना र उनकी कान्छी बहिनी मात्र बचेका थिए किनभने उनीहरू त्यतिबेला विदेश यात्रामा थिए ।

भारतमा निर्वासित जीवन बिताएपछि शेख हसिना सन् १९८१ मा बंगलादेश फर्किइन् र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेता भइन् । उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरेका थिए ।

देशमा भएको विद्रोहले शेख हसिनालाई चाँडै राष्ट्रिय प्रतिमा बनायो । उनी पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । भारतसँग पानी सन्धि गर्ने र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गर्ने श्रेय उनलाई दिइन्छ ।

तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लागेको थियो । पछि, उनी २००१ को चुनावमा उनको राजनीतिक सहयोगी (प्रतिद्वन्द्वी, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का बेगम खालिदा जियासँग पराजित भइन् ।

राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिलाले तीन दशकसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए । उनलाई ‘ब्याटलिङ्ग बेगम’ पनि भनिन्छ । बेगमको अर्थ उच्च परिवारका मुस्लिम महिला भन्ने लाग्छ ।

यी दुई महिला नेताबीचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

सन् २००९ मा हसिना फेरि सत्तामा आएकी थिइन् । यो निर्वाचन आन्तरिम सरकारको निगरानीमा भएको हो ।

उनी एक सच्चा ‘राजनीतिज्ञ हुन थालिन् । उनी धेरै पटक जेलमा परेकी थिइन् र उनको जीवनमा धेरै आक्रमणबाट बच्न सफल भइन् । यसले उनको राजनीतिक जीवन खारिदै लग्यो । सन् २००४ मा भएको आक्रमणका कारण उनको श्रवणशक्तिमा क्षति पुगेको थियो । उनलाई देश निकाला गर्ने प्रयास भयो र उनी भ्रष्टाचारको आरोपमा कैयौँ मुद्दामा फसेकी थिइन् ।

शेख हसिनाले के प्राप्त गरिन् ?
शेख हसिनाले अहिले जसरी बद्नाम भएर देश छाड्नुप-यो, बंगलादेशले त्यसको विपरित चित्र प्रस्तुत गरेको छ । मुस्लिम बहुल बंगलादेश, एक समय विश्वको सबैभन्दा गरिब देश, उनको नेतृत्वमा २००९ देखि विश्वसनीय आर्थिक प्रगति हासिल गरेको छ ।

बंगलादेश अहिले यस क्षेत्रको सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्येको एक हो, आर्थिक प्रगतिको मामिलामा आफ्नो विशाल छिमेकी भारतलाई पनि पछि पारेका छ ।

पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमान अनुसार बंगलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएका छन् ।

बंगलादेशको आर्थिक प्रगतिको श्रेय देशको कपडा उद्योगलाई जान्छ । बंगलादेशको कुल निर्यातको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ र हालैका दशकहरूमा तीब्र रूपमा बढेको छ । बंगलादेशको यो उद्योगले युरोप, अमेरिका र एसियाका बजारमा आपूर्ति गर्छ ।

देशको आफ्नै स्रोत, ऋण र विकास सहायता उपयोग गरेको छ । हसिना सरकारले गंगा नदीमा २.९ बिलियन डलरको पद्मा पुलसहित धेरै ठूला पूर्वाधार विकास परियोजनाहरू सम्पन्न गरेको छ ।

विवादमा शेख हसिना
पछिल्लो आन्दोलन शेख हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । अत्यधिक विवादित चुनावी परिणामपछि यी प्रदर्शनहरू भएका हुन् । विवादित आम निर्वाचनमा उनको पार्टी लगातार चौथो पटक निर्वाचित भएको हो । राजीनामाको माग बढ्दै गएपछि शेख हसिना अडिग रहिन् । उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै आलोचना गरिन्। उनले यी ‘आतंकवादी’ लाई कडाइका साथ सामना गर्न सहयोग पनि मगेकी थिइन् ।  

ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो ।

कोभिड महामारीपछि, बंगलादेश बढ्दो मुद्रास्फीति र बढ्दो खर्चसँग संघर्ष गरिरहेको छ । मुद्रास्फीति गगनचुम्बी छ, विदेशी मुद्रा सञ्चिति घटिरहेको छ र बंगलादेशको विदेशी ऋण सन् २०१६ देखि दोब्बर भएको छ ।

आलोचकहरूले यसका लागि हसिना सरकारको व्यवस्थापनलाई जिम्मेवार ठहराएका छन् । ठूलो मात्रामा भ्रष्टाचारका कारण बंगलादेशको आर्थिक प्रगतिको फाइदा हसिनाको अवामी लिग पार्टीसँग नजिक भएकाहरूलाई मात्र पुगेको आरोप लगाएका छन् । आलोचकहरू भन्छन् देशको प्रगति लोकतन्त्र र मानवअधिकारको मूल्यसँग जाेडिएकाे हुन्छ ।

हसिनाको शासनकालमा प्रतिपक्षी दल र सञ्चार र विरोधीलाई दमन गरिएको थियो । बंगलादेश सरकार र शेख हसिनाले सधैं यस्ता आरोप अस्वीकार गर्दै आएका छन् । तर हालैका महिनाहरूमा, सरकार विरोधी प्रदर्शनमा संलग्न हजारौं राजनीतिक कार्यकर्ता र नागरिक समाजका वरिष्ठ नेताहरूलाई गिरफ्तार गरिएको थियो ।

बीबीसी न्यूजको सहयोगमा