बाँके । राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासी चिन्तित भएका छन् । विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसकेकाे छ, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ ।
राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियाका शङ्कर यादवले ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाकाे समयमा राम्ररी निदाउन पनि नसकिएको गुनासो गरे । दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ ।
तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन कटान भइसकेको छ ।
राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका झण्डै एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँका दुर्गाप्रसाद पाण्डेले बताए ।
राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ तथा नरैनापुर गाउँपालिकाका ६० हजार जनाभन्दा धेरै नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
प्रतिक्रिया