प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझाएका हुन् ।

मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

प्रधानसेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति अवकाश हुनुअघि एक महिना घर बिदामा बस्ने अभ्यास रहेअनुसार रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।

कार्यभार बुझबुझारथ समारोहमा प्रधानसेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे ।

प्रधानसेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।