केयरगिभरमा इजराइल जानको कागजात छानबिन गर्न समिति गठन

केयरगिभरमा इजराइल जानको कागजात छानबिन गर्न समिति गठन


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

पछिल्लो पटक इजराइलले नेपालबाट केयरगिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना प्रक्रिया अगाडि बढाएको थियो । विभागले गत असार ११ गतेदेखि भर्ना छनोट प्रक्रिया अघि बढाएको थियो । इजराइलमा केयरगिभरमा जानका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमा दुई हजार दुई सय नौ जना पुरुष र एक हजार आठ सय १५ जना महिला थिए ।

आवेदन दिएकाबाट तीन हजार चार सय ६१ जनामा एक हजार आठ सय ६३ पुरुष र एक हजार पाँच सय ९८ महिलालाई विभागले स्वीकृत गरेको थियो । तर, भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो । प्रमाणपत्र खरिदबिक्री भएको उजुरी परेपछि श्रम मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाएको हो ।

मन्त्रालयका अनुसार सहायक कामदारको छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन छानबिन समिति गठन गरिएको हो । समितिले इजरायल र नेपालको सम्झौताअनुसार तोकिएको सर्तमाथि पनि छानबिन गर्ने छ । विभागले साउन १८ गतेसम्म पेस गरिएको कागजात जाँच गर्ने समय तोकेको थियो । त्यसक्रममा सरकारी मान्यता नपाएका तालिम केन्द्र र केयरगिभर तालिम दिन अनुमति नलिएका संस्थाबाट सर्टिफिकेट बुझाएका तीन सय २१ जना र तोकिएको कागजात नपुगेका दुई ४२ गरी पाँच ६३ जनाको आवेदन विभागले रद्द गरेको छ ।