२० वर्षको आसपासमा बिहे गर्न र छिटो सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

२० वर्षको आसपासमा बिहे गर्न र छिटो सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल जनसङ्ख्यावृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको पनि बताए ।

उनलेले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिए ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका लागि सोच्नुपर्ने बताए ।

उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गरे ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरूलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाए ।