काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानी आकर्षित गर्ने कानुन निर्माणमा जोड दिएका छन् । आइतबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको दीगो आर्थिक विकासमा नीतिगत सुधार अन्तक्रिया कार्यक्रममा बोल्दै सभापति खतिवडाले भने, ‘अहिले कांग्रेस–एमालेको सरकार बनेको छ, यसले जनतामा एउटा आशा छाएको छ । उद्यमी र व्यवसायी मैत्री सरकार रहेछ भन्ने प्रमाणित भएको छ । पूँजी बजारमा ठूलो उत्साह देखिएको छ । सेयर बजारमा उत्साह ल्याउने अर्थमन्त्री र यो सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
उनले भने, ‘हामीले धेरै कुरा गर्नु पर्ने रहेनछ । खाना पनि नखाउ, काम पनि नगर भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । नेपाल लगानीमैत्री मुलुक हो भन्ने वातावरण सिर्जना गर्नुपर्छ । यहाँ उद्योगी, व्यापारीहरु काम गर्दा त्रसित हुनुपर्दैन भन्ने आशा जाग्यो भने नेपालजस्तो सुन्दर देश अरु कुनै हुँदैन ।’
‘बाहिरबाट लगानी ल्याउँछन्, यहाँ व्यवसाय गर्छन्, कर तिर्छन् भने यही बस्ने वातावरण बनाउन सभापति खतिवडाले अर्थमन्त्रीसँग आग्रह गरे । उनले भने, ‘अहिले धेरै विधेयकहरु छलफलमा आएका छन्, अर्थतन्त्र उकास्ने कुरामा सबैको एउटै धारणा हुनुपर्छ भन्ने विषयमा हामीबीच व्यापक छलफल भएको छ ।’
‘एउटै संस्थालाई सबैले हेर्छन् । सीआईबी, सम्पत्ति शुद्धिकरण, अख्तियार, राजश्वलगायत अन्य विभिन्न संस्थाले त्यसैलाई हेर्ने थालेपछि कसरी प्रगति हुन्छ ?’ उनले भने, ‘लगानीको वातावरण कसरी बनाउन सकिन्छ भन्ने कानुन हामीले निर्माण ग¥यौं, यसो गरियो भने सबभन्दा राम्रो हुन्छ ।’
‘नेपाल यस्तो देश हो, जहाँ लगानी गर्न गयो भने सबैले हामीलाई स्वागत गर्दथ्यो । केही समय अघि श्रीलंका कस्तो थियो ? आज श्रीलंकामा आर्थिक उन्नति कसरी भइरहेको छ ? यो उदाहरण हामी सबैका लागि पाठ हो’ उनले भने, ‘हामी दुई ठूला देशको बीचमा छौं, लगानीको वातावरण नेपालमा बनाउन सकिन्छ । सबै सुविधा छ, कुनै झन्झट छैन भन्ने वातावरण सिर्जना भयो भने हाम्रो सुन्दर देश अझ सुन्दर हुन्छ ।’
समितिमा आएका विधेयकका बारेमा सरकार, अन्य राजनीतिक दल, उद्योगी, व्यापारीसँग सल्लाह गरेर मैत्रीपूर्ण कानुन निर्माण गरेर अगाडि बढ्न उनले सुझाव दिए । विधेयकका बारेमा अहिले नै बोल्न हतार हुने उनको भनाइ थियो । विधेयकबारे यतिबेला समितिमा छलफल चलिरहेको छ, उनले भने, ‘धेरै माननीयहरुको संशोधन छ, हामीले अख्तियारसँग बसेर छलफल गरिरहेका छौं । सरकारको धारणा आइसकेको छ । अब निजी क्षेत्रसँग धारणा लिएर सर्वस्वीकार्य विधेयक बनाउनुपर्छ ।’
यी विधेयक पास भएपछि नेपाल लगानीमैत्री देश बन्ने उनको भनाइ छ । ‘लगानीमैत्री कानुन निर्माण गरेर यही सरकारले लागू गरे स्वर्णिम काल सुरु हुने उनले बताए । सभापति खतिवडाले भने, ‘कार्पेट निर्यात गर्ने हाम्रो देश, अहिले सबै उद्योगधन्दा बन्द भएको छ । अब उद्योग खोल्न कसरी आकर्षित गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जाओस् । नेपालमा लगानीकर्ता भाग्ने र बाहिरका ठग प्रवृत्तिका मानिस नभित्रिने वातावरण हामीले बनाउनुपर्छ ।’
प्रतिक्रिया