काठमाडौं । यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई अर्पण गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख रहेको छ । पत्रकार गौतमको दोस्रो स्मृति दिवस आगामी असोज २ गते सो पुरस्कार प्रदान गरिने सेन्टरका अध्यक्ष प्रदीपा गौतमले जानकारी दिइन ।
‘दृष्टि’ साप्ताहिकका सम्पादक श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । तत्कालीन पञ्चायती निरङ्कुश सत्ताबाट ‘नेपाल पोष्ट’ साप्ताहिकको प्रकाशनमा रोक लगाउँदा उनले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ साप्ताहिक ‘नेपाल पोष्ट’ का सम्पादक । प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न प्रदान गरेका थिए । गाईजात्रा अङ्कमा आपत्ति जनाई ‘मायालु’ को पनि प्रकाशनमा रोक लगाइएको इतिहास छ ।
संस्थाले कलाकार गेहेन्द्रमान अमात्य तथा पत्रकार एवं प्राध्यापक रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गर्नेछ । उनीहरुलाई जनही रु ५ हजार दिइने छ ।
अमात्य सरकारी सेवा सूचना विभागमा सेवारत हुनाका साथै निजी तवरमा छापिने पत्रपत्रिकालाई तस्बिरका ‘जिंक ब्लक’ बनाएर उपलब्ध गराउँथे । यस्तै घिमिरेले सहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाको समाचार पत्रपत्रिकालाई उपलब्ध गराएको जनाइएको छ ।
प्रतिक्रिया