भर्जिनिया । अमेरिकामा आफ्नै श्रीमतीको शव लुकाएको अभियोगमा एक नेपालीलाई जेल चलान गरिएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले विगत तीन सातादेखि हराईरहेकी ममता काफ्लेको अवस्था बारे केही पत्ता लगाउन नसकेपछि उनका पतिलाई आफ्नी श्रीमतीको हत्या गरी शव लुकाएको अभियोग लगाएर जेल चलान गरेको हो ।
भट्टले ममताको हत्या गरेको प्रहरीले भनिसकेको छैन । प्रहरीले बिहीबार बिहान घरमा छापा मारेर भट्टलाई पक्राउ गरेको थियो । मनसास पार्क प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा शब लुकाएको र हराइरहेकी ममता फेला नपर्नुको कारण उनका पतिले प्रहरीलाई आवश्यक सहयोग नगरेको आरोप लगाएको छ ।
नर्सिंग पेशामा आबद्ध २८ वर्षीय ममता काफ्ले भट्टकी श्रीमती हुन् । उनीहरुको एउटी छोरी छन् । छोरी सामाजिक सेवा गृहमा सुरक्षित रहेको प्रहरीको भनाइ छ ।
ममता हराएपछि स्थानीय प्रहरीले खोजी प्रयास गरिरहेको थियो भने नेपाली समुदायले खोजीका लागि निरन्तर दबाब दिइरहेका थिए । भर्जिनियाको मनाससमा स्थायी बसोवास गर्ने ममता २१ दिन पहिले काममा नपुगेपछि उनका सहकर्मीहरुले पति र प्रहरीलाई जानकारी गराएका थिए । ममता नेपालको काभ्रे जिल्लाकी हुन् भने सैनिक पृष्ठभूमि भएका उनका पति नरेश भट्ट चाहिँ डडेलधुराका हुन् ।
प्रतिक्रिया