काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने तयारी गरेको छ ।
यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने रास्वपाका एक नेताले जानकारी दिएका छन । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो ।
उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए ।
त्यी सबै विषयले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको रास्वपा स्रोतको दाबी छ । त्यसपश्चात् रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।
अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णयमा पुगेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे स्पष्ट जवाफ नदिएपनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् ।
उनले भने, ‘बैठक अगावै निर्णय यहीँ भन्न मिल्दैन । तर‚ अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको छ । हामीले विधान अनुसार सबै प्रक्रिया र अवसर उहाँलाई दिएका छौँ‚ ‘के गर्छौँ भन्ने निर्णय भोलिको केन्द्रीय समिति बैठकले गर्छ ।’


प्रतिक्रिया