अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अस्ट्रेलिया सरकारको घोषणा

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अस्ट्रेलिया सरकारको घोषणा


ग्लोब नेपाल
81
Shares

क्यानबेरा । अष्ट्रेलियाली सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ ।

सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मंगलबार घोषणा गरिएको हो । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार, व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने शिक्षा मन्त्री जेसन क्लेयरले जानकारी दिए । निर्धारित सीमाहरू संसद्ले पारित गर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए ।

घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पुरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् । सरकारी तथ्याङ्कका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अस्ट्रेलियन डलर थियो ।