इजरायलले सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट

इजरायलले सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परेका आवेदनहरूमाथि छानबिन गरिरहेका बेला इजरायलले बिहीबार ‘लक्की ड्र’ मार्फत दुई हजार २०२ जनाको नाम छनौट गरेको हो ।

इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले ‘लक्की ड्र’ बाट दुई हजार २०२ जनाको नाम छनौट गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

जसमा ६० प्रतिशत महिला (११९६) र ४० प्रतिशत पुरुष (१००६) छन् । ‘लक्की ड्र’मा तेलअभिभस्थित नेपाली दूतावासका प्रतिनिधि समेत सहभागी थिएनन् । तर, काठमाडौँस्थित इजरायली दूतावासका राजदूतसहितका अधिकारीहरूले भर्चुअल रूपमा सहभागिता जनाएका थिए ।

वैदेशिक रोजगार विभागले नेमचेकका लागि तीन हजार ४६१ जनाको नाम पठाएको थियो । पीबाले ती नाममाथि आवश्यक छानबिन गर्दै ‘लक्की ड्र’ गरेको हो । विभागले आवेदकको नामावली इजरायल पठाए लगत्तै श्रम मन्त्रालयमा नक्कली कागजात पेस भएको भन्दै उजुरी परेको थियो ।

मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले हालसम्म पनि छानबिन नै जारी राखेको छ । त्यसको प्रतिवेदन आउन नपाउँदै पीबाले ‘लक्की ड्र’ गरेको हो ।

इजरायलले दुई हजार जना केयरगिभर लैजाने भनेको थियो । सोही आधारमा विभागले गत असार असार ११ गते आवेदन आह्वान गरेको थियो । सुरुमा इजरायलले ८०० जना लैजाने भनेको थियो । जसमा पाँच सय मुख्य र तीन सय वैकल्पिक उम्मेदवार भनिएको थियो ।

पछि आवेदन प्रक्रियाकै क्रममा चरणमा एक हजार मुख्य र एक हजार वैकल्पिक गरेर दुई हजार जना लैजाने भनेको थियो ।सोही आधारमा विभागले आवेदन प्रक्रिया र छनौट प्रक्रिया अगाडि बढाएको थियो ।

त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको थियो । ५६३ आवेदन रद्द गरिएको थियो । रद्द गरिएका आवेदनहरूमाथि मन्त्रालयको छानबिन टोलीले छानबिन गरिरहेकै बेला इजरायलले ‘लक्की ड्र’ गरेको हो ।