टानमा सापकोटा समूहले बाजी मार्ने पक्का

टानमा सापकोटा समूहले बाजी मार्ने पक्का


ग्लोब नेपाल
729
Shares

काठमाडौं। पर्यटन व्यसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एशिसिएसन अफ नेपाल (टान) को भावी नेतृत्वका लागि हुने निर्बाचनमा अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटा समूहले बाजी मार्ने पक्का जस्तै भएको छ। टानको निर्वाचन तथा ४६ औं वार्षिक साधारण सभा भोलि सोमबार हुँदैछ । निर्बाचनका लागि राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे नेतृत्वको समूह चुनावी मैदानमा छन्।

सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानललाई नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन,शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल कोरिया ट्रेकिङ टुर एशोसियसन कोटानलगायत अग्रज र युवा व्यवसायीहरुको समर्थन र सहभागिता रहेकले जीत सुनिश्चित जस्तै भएको हो ।

सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा बिष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदीको दावेदारी छ भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की, प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ), द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छन्।

पाण्डे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यबसायी हुन्। सुरुमा स्वतन्त्र र व्यावसायिक समूहका रूपमा आफुलाई अगाडी बढाउने घोषणा पाण्डे समूहले गरे पनि निर्बाचन प्रचार नै माओवादीमय भएका कारण पनि यो समूहसँग व्यबसायीहरु झस्केको बताइएको छ ।

व्यबसायी र सरकारबीच समन्वय गर्ने संस्था भएका कारण यो अवस्थामा टानमा समन्वयकारी नेतृत्व भयो भने पर्यटन व्यवसायको प्रबर्द्धन र व्यबसायीहरुको हित हुने व्यसायीहरुको निष्कर्ष छ। पर्यटन ऐन बनेको झन्डै ४६ बर्षपछि अहिले नयाँ ऐन निर्माणको चरणमा रहेको छ।यो अवस्थामा टानमा सापकोटा समूह आउँदा सहज हुने उनीहरूको बुझाईका कारण पनि यो समूहप्रति व्यसायीहरुको आकर्षण बढेको ठानिएको छ।