संसदमा चन्द्र भण्डारीले उठाए गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग

संसदमा चन्द्र भण्डारीले उठाए गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग


ग्लोब नेपाल
837
Shares

काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा आवाज उठेको छ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

संसद बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरूको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’

उनले यो माग राखेर आफूले गायिका माझीको अधिकार हनन् नगरेको समेत बताए । उनले विष्णु माझीले गत साता ल्याएको चर्चित गीत ‘आइन आमा यो तीजैमा’को प्रशंसा समेत गरे । यो गीतले नेपाली समाज, नेपाली संस्कृति झल्काएको सांसद भण्डारीको भनाइ छ । गायिका माझीको उक्त गीतलाई अहिलेसम्म एक करोड भन्दा बढी पटक हेरिएको छ ।

लामो समयदेखि गायिका माझी सार्वजनिक जीवनमा देखिएकी छैनन् । गुपचुप जीवन बाँचेरै उनले हिट गीत दर्शक(श्रोतामाझ ल्याएकी छन् । पछिल्लो गीतले पनि निकै चर्चा बटुलेको छ ।