एफडब्लुएलडीकाे कार्यक्रममा मन्त्री सुडीले भने -‘मानव बेचबिखन नियन्त्रण ऐन संशोधन यथाशीघ्र हुन्छ’

एफडब्लुएलडीकाे कार्यक्रममा मन्त्री सुडीले भने -‘मानव बेचबिखन नियन्त्रण ऐन संशोधन यथाशीघ्र हुन्छ’


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन् । उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए ।

“कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ । कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो । तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन हुन्छ”, मन्त्री साहले भने।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख, २००० (पार्लेमो प्रोटोकल) कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको थियो । नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन ।

कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्याल, अधिवक्ताद्वय रोजिना श्रेष्ठ र विनोदचन्द्र देवकोटालगायतले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि यथाशीघ्र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन हुनुपर्नेमा जोड दिएका थिए।