डढेलोको असर : देखिन छाडे जंगलमा जनावर

डढेलोको असर : देखिन छाडे जंगलमा जनावर



काठमाडौं । वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन् ।

डढेलोका कारण जङ्गल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए । ‘रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जङ्गलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्’, उनले भने ।

जङ्गलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए । ‘डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जङ्गलमा कुनै चहलपहल छैन । जङ्गली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्’, पुनले भने ।

जङ्गलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए । घर्तीले भने, ‘अचेल यी चरा देखिँदैनन् ।’ वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए ।

वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि भएको थियो । डढेलोले जङ्गल सखाप पारेपछि गाउँमा झन् बढी जङ्गली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउँछन् । डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पुर्‍याएको छ । डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ । जिल्लाका मालिका, मङ्गला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो ।

आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन् । डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ । डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी, २१ दशमलव २७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ ।डिभिजन कार्यालय मातहतका ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।