दशैंका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

दशैंका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा सर्वसाधारणका लागि अहिले प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो ।

दशैंको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराई बताउछन् ।

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ ।

यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ । साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यलाई मितव्ययी एवम् प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए ।

चाडबाडका समयमा मुख्यतयाः ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ । पाँच सय र एक हजार रुपैयाँ दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ ।