महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न क्रियाशील अनिवार्य

महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न क्रियाशील अनिवार्य

जनसम्पर्क समितिको अध्यक्ष गैरनेपाली नागरिक बन्न सक्ने



काठमाडौं । कांग्रेसमा आस्था राख्ने विदेशमा रहेका नेपालीहरुको साझा संस्था सबै नेपाली जनसम्पर्क समितिलाई पार्टीले परिपत्र जारी गरेको छ । परिपत्रमा पार्टीको केन्द्रीय कार्यसमितिको साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकले नेपाली जनसम्पर्क समितिका बारेमा गरिएको निर्णय उल्लेख गरिएको छ ।

जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन, एकरुपता ल्याउन, समितिको सदस्यता, नेतृत्व चयन प्रक्रिया र आबद्धतालाई फराकिलो बनाउन तथा महाधिवेशन तथा महासमितिमा जनसम्पर्क समितिबाट हुने प्रतिनिधित्वलाई थप स्पष्ट बनाउने उद्देश्यले नेपाली कांग्रेसको विधानको धारा १४ को उपधारा (३) को केही प्रावधान, (४), (५) र (६) निलम्बन गर्ने निर्णय गरेको व्यहोरा उल्लेख छ ।

नेपाली जनसम्पर्क समितिको अध्यक्ष तथा पदाधिकारी नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएअनुसार नेपाली कांग्रेस क्रियाशील सदसय वा नेपाली जनसम्पर्क समितिका सदस्य मध्येबाट चयन हुनसक्ने गरी अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय पार्टीले गरेको छ ।

नेपाली जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारी चयन गर्दा नेपाली कांग्रेसको क्रियाशील सदसय वा नेपाली जनसम्पर्क समितिका सदस्य मध्येबाट चयन हुनसक्ने स्पष्ट भएको छ । यसले जनसम्पर्क समितिमार्फत् विदेशमा रहेका नेपालीलाई जोड्न र संगठनको दायरा फराकिलो बनाउन मद्दत पुग्ने विश्वास कांग्रेसले लिएको परिपत्रमा उल्लेख छ ।

कार्यसमिति अध्यक्ष र पदाधिकारीको लागि क्रियाशील सदस्य नभएको व्यक्ति पनि हुन सक्ने भए पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनका लागि भने पार्टीको क्रियाशील सदस्य नै हुनुपर्ने र क्रियाशील सदसय हुन नेपाली नागरिक हुनुपर्ने विधानको सदस्यता सम्बन्धि व्यवस्था विद्यमान नै रहेकाले पार्टी विधान र प्रचलित कानुनलाई मध्येनजर गरी यसबारेमा कुनै अलमलमा नपरी अधिवेशन प्रक्रिया र सांगठनिक गतिविधि अगाडि बढाउन परिपत्रमा भनिएको छ ।