भूकम्प प्रभावित आठविसकोट क्षेत्रको सडक स्तरोन्नति शुरू

भूकम्प प्रभावित आठविसकोट क्षेत्रको सडक स्तरोन्नति शुरू



रुकुम पश्चिम । भूकम्प प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति शुरू भएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चार वटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति शुरू भएको हो ।

बेलायती राजदूतावास काठमाण्डाैकाे आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’ अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति शुरू गरिएको आठविसकोट नगरपालिकाले जनाएको छ ।

प्रभावित क्षेत्रका वडा नम्बर ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रमअन्तर्गत रोजगारी प्रदान गरेको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए । उनका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् । निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् । दुई किस्तामा ३६ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कामका लागि नगद कार्यक्रमअन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताए । चार वटा वडाका दुई हजार एक सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।