भोलिदेखि २९ गतेसम्म पश्चिमी भागमा भारी वर्षाको सम्भावना

भोलिदेखि २९ गतेसम्म पश्चिमी भागमा भारी वर्षाको सम्भावना



काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बुधबार महाशाखाले सतर्क रहन विशेष सूचना जारी गरेको हाे । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ । त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ‘सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ विभागले भनेको छ ।

भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले विशेष सूचना जारी गरेकाे हाे ।