हास्य कलाकार इकुविरुद्ध ४ जनाको जाहेरी

हास्य कलाकार इकुविरुद्ध ४ जनाको जाहेरी


ग्लोब नेपाल
324
Shares

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो ।

मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीका अधिकारीहरु जानकारी दिएका छन । तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको अनुसन्धानबाट खुलेको सीआईबीका अधिकारीहरुले जानकारी दिउका छन ।

इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ ।

करोड भन्दा बढी रकम निरन्तर ट्रान्ज्याक्सन भएको विवरण राष्ट्र बैंकले पठाएको छ’, ‘यी रकम विदेश पठाउने भन्दै ठगी गरेको पाइएको छ ।’ इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

उनले कार्यक्रम नभएको ठाउँमा कार्यक्रम भएको छ भनेर पनि रकम लिएको पाइएको सीआईबीको जानकारी दिएको छ । इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआईबीमा जाहेरी दिएका छन् ।

जसमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । एक जनाले ४ लाख र अर्का एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् । अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको प्रवक्ता बोगटीले बताए ।