म्यानचेस्टर सिटीको लगातार चौथो जीत

म्यानचेस्टर सिटीको लगातार चौथो जीत


ग्लोब नेपाल
108
Shares

लन्डन । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए । उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन् । 

त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए । खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रता लिएको ब्रेन्टफोर्डले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १२ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

नोट्टीङघमसँग लिभरपुल स्तब्ध

लिभरपुल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा नोट्टीङघम फोरेस्टसँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघमले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नोट्टीङघमको जितमा खेलको ७२औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिभरपुलको घरेलु मैदानमा पछिल्लो ५५ बर्षमा नोट्टीङघमले २५औं खेलमा पहिलो जित हासिल गरेको हो ।

नोट्टीङघमको यस सिजनमा यो दोस्रो जित हो । चार खेलमा २ जित र २ बराबरी खेलेको नोट्टीङघमको ८ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यस सिजनको चौथो खेलमा पहिलो हार बेहोरेको लिभरपुलको ९ अंक रहेको छ ।

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए ।

यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ किर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो ।

यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।