धरहरा सरकार आफैले सञ्चालन गर्ने, महानगरलाई नदिने

धरहरा सरकार आफैले सञ्चालन गर्ने, महानगरलाई नदिने

भोलिदेखि धरहरा चढ्न पाइने, अर्को निर्णय नभएसम्म प्रवेश निःशुल्क


ग्लोब नेपाल
297
Shares

काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुल्ला हुँदैछ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गरिने परियोजनाका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिएका छन । वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिए । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनको भनाइ छ ।

उनले भने, ‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था मिलाउन लागेका छौं ।’ भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए ।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुने उनले जानकारी दिएका छन । धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन् ।

फोटो भिडियो खिच्न समेत दिइने परियोजना प्रमुख अधिकारीले जानकारी दिएका छन् । शहरी विकास मन्त्रालयले धरहरा सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाउँदै गर्दा मन्त्रिपरिषद्ले धरहरा खुला गर्ने निर्णय गरेकाले राम्रो तयारी भने हुन पाएको छैन । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले को महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो ।

महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । नयाँ धराहरा बनेपछि काठमाडौं महानगरपालिकाले संघीय सरकारसँग धरहरा चलाउन आफैंलाई यसको जिम्मा दिन माग गरेको थियो । तर, संघीय सरकार अब महानगरपालिकालाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन ।

२७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ । बाहिरबाट हेर्दा पुरानै स्वरुपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रुपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरामुनि तीनतले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ ।