दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी



काठमाडौं । काठमाडौंका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानी मन्त्री प्रदीप यादवले दिएकाे निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाडौंमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।

वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौं उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाण्डौमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गएको असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक २० करोड लिटर पानी ल्याउन लागिएको छ ।