परराष्ट्रमन्त्री राणाको अमेरिकामा भव्य स्वागत (फोटोफिचरसहित)

परराष्ट्रमन्त्री राणाको अमेरिकामा भव्य स्वागत (फोटोफिचरसहित)


ग्लोब नेपाल
1.3k
Shares

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा भव्य स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको हो ।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु र पार्टीका विभिन्न तहका कार्यकर्ताहरुले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रीय विमानस्थल परिसरमा भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री राणाको स्वागतका लागि हाल अमेरिकामै रहेका काँग्रेस केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल पनि विमानस्थल पुगेका थिए ।

यसैगरी मन्त्री राणाको स्वागतका लागि संयक्त राष्ट्र संघको नेपाल मिशनका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेल, न्यूयोर्कस्थित वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका बिभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरु, बिभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरु पनि बिमानस्थलमा पुगेका थिए ।

जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्रमन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनैतिक दलका प्रवासी संगठनहरु, सामाजिक संघ संस्था र नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए ।

उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनैतिक पहल गरिदिन नेपालीहरुका तर्फबाट परराष्ट्रमन्त्री डा. राणासंग आग्रह गरिएको समेत जानकारी दिएका छन् ।

यसैबीच नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले भोली आईतबार साँझ न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डाक्टर राणाको स्वागत र सम्मानमा एक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च, आदिवासी जनजाति महासंघ, मधेशी एसोसिएशन, एनआरएन न्यूयोर्क च्याप्टरलगायतका संघ संस्थाको संयुक्त आयोजनामा यस्तो बृहत् कार्यक्रम आयोजना गर्न लागिएको हो ।