रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जना वडा सदस्यको मृत्यु

रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जना वडा सदस्यको मृत्यु



रामेछाप । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृतक वडा सदस्य नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । दुर्घटनामा परी मन्थली नगरपालिका –४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, ४२ वर्षकी गुणमाया थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् ।

घाइतेमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ ।