आगामी तीन दिन देशैभरि उच्च वर्षा हुने प्रक्षेपण, ५३ जिल्ला उच्च जोखिममा

आगामी तीन दिन देशैभरि उच्च वर्षा हुने प्रक्षेपण, ५३ जिल्ला उच्च जोखिममा



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार अपराह्न विशेष मनसुन बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने र कैयौं स्थानमा छोटो अवधिमा धेरै पानी पर्ने जनाएको छ । बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणालीका कारण असोज १० देखि असोज १३ गतेसम्म देशभरिको आकाश बादलले भरिने विभागले जनाएको छ ।

यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा एवं मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको जोखिम रहेको विभागको भनाइ छ । विभागका अनुसार ५३ जिल्लामा अत्यधिक वर्षाको जोखिम छ ।

विभागले गण्डकी र लुम्बिनीका थोरै स्थान एवं कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने बताएको छ । बिहीबार दिउँसोदेखि नै यस्तो वर्षा हुन शुरू हुने आकलन छ ।

विभागले उच्च पानीले बाढीपहिरोको जोखिम निम्त्याउने भएकाले सतर्कता अपनाउन तथा तयारी गर्न आह्वान गरेको छ ।