राष्ट्रपति पौडेलद्वारा देशकै लामो झोलुङ्गे पुल उद्घाटन

राष्ट्रपति पौडेलद्वारा देशकै लामो झोलुङ्गे पुल उद्घाटन


ग्लोब नेपाल
648
Shares

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य विनोद चौधरी, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो ।

उक्त पुल बनाउन २०७२ सालबाट निर्माणको काम सुरु भएको हो। ९ वर्षपछि काम पूरा भएको छ। पुल बनाउन त्रिशूली आश्रय जेभीले विभागसँग ठेक्कासम्झौता गरेको थियो। एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल रु २० करोड ९३ लाखमा निर्माण गरिएको हो । सो पुल तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको हो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ । यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन ।

सुस्ता गाउँपालिका–५ नारायणी नदीपारिको सुस्ताबस्तीमा तीन सय ५० परिवारको बसोबास छ । उनीहरुमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले बताए । वर्षौंदेखि बसोबास गर्दै आए पनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले बताए ।