निरन्तरकाे वर्षाले केही सडक आशिंक तथा पूर्णरूपमा अवरुद्ध

निरन्तरकाे वर्षाले केही सडक आशिंक तथा पूर्णरूपमा अवरुद्ध



काठमाडौं । केही सडक भने आशिंक तथा पूर्णरूपमा अवरुद्ध छन् । हिजो बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसय बेँसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार लेदोसहितको पहिरोले अवरुद्ध सडक पूर्णरूपमा खुलाउने प्रयास भइरहेको छ ।

निरन्तरको वर्षाले राप्ती लोकमार्ग अवरुद्ध छ । लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार आजदेखि पर्सि १३ गतेसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला गाडी टिपर र ट्रक चलाउन रोक लगाइएको छ ।

यस्तै पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जोड्ने सडक बन्द भएकाे छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरामा पहिरोले बिहानदेखि भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जोड्ने बाटो बन्द भएको हो । स्थानीयबासिन्दा, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका छन् । काठमाडौंबाट हेटौँडा र हेटौँडाबाट फाखेल हुँदै काठमाण्डौ आउने/जाने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । गएराति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।